यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

अमेरिकामा थकालीहरुको पहिलो पटक भेला

Wednesday, August 15, 2007


अमेरिकामा रहेका थकालीहरु (शेरचन, गौचन, भट्टचन र तुलाचन) को पहिलोपटक बृहत भेला आईतबार न्यूयोर्कमा भब्यताकासाथ सम्पन्न भएको समाचार छ । भेलाको उद्घाटन सत्रमा आयोजकहरुको तर्फबाट उपस्थित समस्त थकाली बन्धुहरुलाई धन्यबाद तथा स्वागत अभिबादन टक्र्याउँदै उपप्रधानमन्त्री अमिक शेरचनका पुत्र श्रमिक शेरचनले स्वागत भाषण गर्नुभएको थियो । अमेरिकाको बिभिन्न राज्यहरुमा छरिएर रहेका थकालीहरु लामो दूरीका यात्रा गरेर भेलामा सहभागी भएका थिए । भेलालाई सम्बोधन गर्दै डा. किशोर शेरचनले थकाली संस्कृतिमा थकाली जातिको आफ़्नो छुट्टै थकाली भाषाको बिकास गर्नका लागि नेपालमा स्थापना गरिएको थकाली रिसर्च सेन्टरको बारेमा प्रकाश पादैं उक्त रिसर्च सेन्टरको प्रकाशन "थसाङ" र थकाली भाषाको शब्दकोष अमेरिकाबासी थकालीहरुलाई बितरण गर्नुभएको थियो । यसैगरी लामो दूरीको यात्रा छिचोल्दै वासिङटन डिसीबाट भेलामा भाग लिन पुग्नुभएका खेम भट्टचनले थकाली रिसर्च सेन्टरको लागि ९ लाख आर्थिक सहयोग उपलब्ध गराउने जापानको थकाली सेवा समितिको बारेमा प्रकाश पार्दै बिदेशमा भईपरी आउने सुख दुख र आपतबिपत टार्नका लागि पनि थकालीहरु संगठित हुन आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो । यसैगरी महिला सहभागीहरुका तर्फबाट म्याग्दी बेनीकी बिमला शेरचनले बोल्नु भएको थियो । भेलाको दोश्रो सत्रमा अमेरिकामा रहेका ३० हजार नेपाली जनजातिहरुको सम्मेलनको आयोजना र सो सम्मेलनमा प्रमुख अतिथिकारुपमा उपप्रधानमन्त्री अमिक शेरचनलाई आमन्त्रण गर्ने बारे बिस्तृत छलफल भएको थियो भने भेलाले थकालीहरुको अन्तर्राष्ट्रिय नेटवर्कका लागि एउटा होमपेज निर्माण गर्न कम्प्युटर इञ्जिनियरद्वय सुशिल भट्टचन र सुधिर गौचनलाई जिम्मा लगाएको छ । यसैगरी भेलाले थकालीहरुको महान पर्व फागुपूर्णिमा (तोरन्ल) न्यूयोर्कमा मनाउने निर्णयसमेत गरेको छ । अमेरिकामा ३ दिनदेखि परिरहेको अबिरल बर्षाका कारण खुल्ला पार्कमा गर्ने भनिएको सो भेला न्यूयोर्कबासी नेपालीहरुको भोज-भतेर, बिबाह,पार्टी, सभा-सम्मेलन हुने गर्ने नेपाली तथा जापानी रेष्टुरेन्ट यतिको हलमा गर्नुपरेको थियो । भेलामा सहभागीहरुलाई स्वादिष्ट थकाली भोजन लगायत खसीको मासु, सेलरोटी जस्ता मिष्ठान्न परिकारको ब्यवस्था न्यूयोर्कबासी थकाल्नीहरुको अग्रसरतामा तयार पारिएको थियो । सामूहिक परिचयबाट शुरु गरिएको सो भेलामा अमेरिकाका बिभिन्न राज्यहरुमा रहेका ब्यापारी, बुद्धिजीवी, उच्चपदस्थ कर्मचारी, डाक्टर, इञ्जिनियर, बिद्यार्थी लगायत सर्बसाधारण थकालीहरुको उत्साहप्रद उपस्थिति रहेको थियो । तीन चरणमा बिभाजन गरिएको उक्त एक दिवसिय भेलाको सञ्चालन भेला आयोजक समितिका संयोजक बुद्धि शेरचनले गर्नुभएको थियो । अमेरिकामा रहेका थकालीहरुको संगठन खडा गर्ने भेलाको प्रमुख उदेश्यअनुरुप बिभिन्न राज्यहरुबाट प्रतिनिधित्व रहने गरी भेलाद्वारा १३ जना संयोजकहरुको चयन गरिएको छ । अर्को कार्यकारिणी समिति गठन नभएसम्मको लागि तदर्थ समितिकोरुपमा यस समितिले नै अमेरिकामा थकाली सेवा समितिको काम गर्ने अधिकार समेत भेलाले दिएको छ । जसअनुसार समितिमा देहायका ब्यक्तिहरु चयन हुनु भएको छ :- १. श्रमिक शेरचन (न्यूयोर्क)२. डा. किशोर शेरचन (क्यालिफोर्निया)३. खेम भट्टचन (वासिङटन डि.सी.)४. सुशिल भट्टचन (फ़्लोरिडा) ५. बिक्रम शेरचन (बोस्टन) ६. सु श्री ज्ञानु शेरचन (ओहायो) ७. डा. श्याम शेरचन (लसएञ्जलस)८. मनिष गौचन (टेक्सास) ९. खगेन्द्र शेरचन (पेन्सिलभानिया)१०. ओम तुलाचन (मेरिल्याण्ड) ११. सुभाष भट्टचन (न्यूजर्सी) १२. बुद्धि शेरचन (न्यूयोर्क) १३. रवि भट्टचन (कान्सास) औपचारिक कार्यक्रमपछि भेला सांगीतिक माहौलमा परिणत भएको थियो । युवायुवतीहरु डिजेमा झुम्मिएका थिए भने प्रौढहरु रातभर दोहोरीको रौनकतामा जमेका थिए ।

नोट: यो समाचार गत सालको सेप्टेम्बर महिनामा समुद्र पारि डटकममा प्रकाशित भई सकेको भएता पनि जानाकारी बिहिन पाठक वर्गहरुको लागि थसेस ब्लगमा पुन: प्रकाशन गरिएको छ ।

0 개의 덧글:

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP